
पर्साको वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामक क्यासिनोबाट प्रहरीले नेपाल प्रहरीका एक इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ।
क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट परिचालित प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव रहेका छन्। उनीहरूसँगै सखुवाप्रसौनी गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका बाँकी व्यक्तिहरूको पहिचान तथा उनीहरूमाथि अघि बढाइने कानुनी प्रक्रियाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ।






Leave a Reply