
भदौ १० गते आएको भीषण बाढी र त्यसपछि गएको ठूलो पहिरोबाट क्षतिग्रस्त चीनको तिब्बत क्षेत्रमा केरूङतर्फ जोडिने प्रमुख राजमार्ग पुनः सञ्चालनमा आएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार क्षतिग्रस्त सडक करिब एक सातामै मर्मत गरेर बुधबार बिहानदेखि सञ्चालनमा ल्याइएको हो।
राजमार्ग खुलेपछि विपद् प्रभावित क्षेत्रमा ठूला सवारीसाधन तथा भारी उद्धार उपकरण लैजान सहज भएको छ। जि२१६ राष्ट्रिय राजमार्ग सञ्चालनमा आएपछि उद्धारकर्मीहरूलाई घटनास्थलको मुख्य भागतर्फ थप गहिराइसम्म पुगेर खोज तथा उद्धार कार्य अघि बढाउन सहयोग पुगेको बताइएको छ।
गत बुधबार आएको विनाशकारी बरफ–चट्टानसहितको पहिरोपछि राजमार्ग पुनः सञ्चालनमा आउनुलाई उद्धार अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
पहिरोका कारण चीनतर्फ १६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ५४६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र पहिरोको व्यापक प्रभावका बाबजुद चिनियाँ उद्धार टोलीले खोजी कार्यलाई निरन्तर तीव्र बनाइरहेको छ।
हेलिकप्टरमार्फत विपद् प्रभावित क्षेत्र पुगेका तिब्बत सीमा प्रहरीसहितका उद्धारकर्मीले सम्पर्कविहीन सबै व्यक्तिको खोजीका लागि सक्दो प्रयास जारी राख्ने बताएका छन्।
जिगात्से सीमा नियन्त्रण टुकडीका प्रहरी अधिकारी ये यीका अनुसार खोजी अभियानमा कुनै किसिमको कमी हुन नदिने गरी टोली परिचालन गरिएको छ। उनका अनुसार उद्धारकर्मीहरूले हार नमान्ने र सम्पर्कविहीन व्यक्तिहरूलाई खोज्न उपलब्ध सबै उपाय प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
घुँडादेखि कम्मरसम्म माटो
पहिरो प्रभावित क्षेत्रमा ठूलो मात्रामा माटो जमेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। उद्धारकर्मीका अनुसार कतिपय स्थानमा माटो घुँडासम्म पुगेको छ भने केही ठाउँमा कम्मरसम्म जमेको अवस्था छ।
बाक्लो माटो र भग्नावशेषका कारण उद्धार टोलीको आवतजावतमा ढिलाइ भइरहेको छ। साथै, सामान्य अवस्थामा प्रयोग गरिने केही खोजी उपकरणले समेत अपेक्षाअनुसार प्रभावकारी रूपमा काम गर्न नसकेको उद्धारकर्मीले बताएका छन्।
विशेषज्ञहरूले पहिरोले यति ठूलो क्षति पुर्याउनुमा क्षेत्रको अत्यधिक भिरालो भूभाग, पहिरो बग्ने तीव्र गति र साँघुरो उपत्यका मुख्य कारण रहेको बताएका छन्।
आधुनिक उपकरण र खोजी कुकुर परिचालन
कठिन परिस्थितिका बीच उद्धार टोलीले विभिन्न प्रविधि र विधिको प्रयोग गरेर खोजीलाई निरन्तरता दिएको छ। जमिनमा रहेका उद्धारकर्मीले माटो तथा भग्नावशेषमा ठोकेर, आवाज दिएर र सम्भावित प्रतिक्रिया सुनेर जीवनको संकेत खोजिरहेका छन्।
यसका अतिरिक्त दुईवटा तालिमप्राप्त खोजी कुकुरलाई पनि फरक–फरक क्षेत्रमा परिचालन गरिएको छ। भग्नावशेषमुनि पुरिएका व्यक्तिको अवस्थिति पहिचान गर्न जीवन पत्ता लगाउने अत्याधुनिक उपकरणको समेत प्रयोग भइरहेको छ।
उद्धारकर्मीका अनुसार पछिल्ला दिनमा नाकाको सम्पूर्ण क्षेत्रमा सतहबाट खोजी पूरा गरिएको छ। माथिल्लो तहमा समेत पटक–पटक विस्तृत रूपमा खोजी गरिएको जनाइएको छ।
सञ्चार सेवा पनि पूर्ण रूपमा बहाल
यसैबीच पहिरो प्रभावित क्षेत्रमा सञ्चार सेवा पूर्ण रूपमा पुनःस्थापित भएको बताइएको छ। तिब्बतका दूरसञ्चार सेवा प्रदायकहरूले मंगलबार साँझ ५ बजेसम्म एउटा बेस स्टेसन पुनः सञ्चालनमा ल्याएका थिए।
त्यससँगै थप १२ वटा आपत्कालीन बेस स्टेसन स्थापना गरिएको छ। सञ्चार पूर्वाधार पुनःस्थापित भएपछि उद्धार तथा राहत सामग्रीको आपूर्ति, उद्धार अभियानको निर्देशन र विभिन्न टोलीबीच समन्वय गर्न सहज भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।
स्थानीय दूरसञ्चार अधिकारीहरूले हवाई तथा स्थलमार्ग दुवैबाट आवश्यक सञ्चार सहयोग उपलब्ध गराउने व्यवस्था पनि सञ्चालनमा ल्याएका छन्।
राजमार्ग र सञ्चार सेवा पुनः सञ्चालनमा आएसँगै तिब्बतको पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






Leave a Reply