
काठमाडौं – रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण जोखिममा परेका ८८३ जना स्थानीय तथा मजदुरको नेपाली सेनाले उद्धार गरेको छ। बाढीका कारण अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जनालाई समेत सेनाले अत्यन्तै जोखिमपूर्ण परिस्थितिबीच सुरक्षित बाहिर निकालेको हो।
प्रतिकूल मौसम, तीव्र बाढीको बहाव र टनेलभित्रको जटिल अवस्थाबीच सेनाको टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो। टनेलभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको खबरपछि उनीहरूको उद्धारका लागि समेत नेपाली सेनाको टोली निरन्तर खटिएको छ।
उद्धारका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली परिचालन गरिएको थियो। टोलीले जोखिमको पर्वाह नगरी टनेलभित्र फसेका मजदुर तथा स्थानीयलाई सुरक्षित स्थानमा ल्याएको हो।
यसैबीच, बाढीबाट प्रभावित रसुवाका अन्य विकट क्षेत्रमा पनि नेपाली सेनाले उद्धार कार्यलाई तीव्रता दिएको छ। सी क्यू आर टी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा परिचालित १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकु वेशीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ।
नेपाली सेनाका अनुसार आज २०८३ भदौ ११ गते रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको हो। सेनाको उच्च साहस, तदारुकता र निरन्तर प्रयासका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
बाढीको जोखिम अझै कायम रहेकाले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई नेपाली सेनाले निरन्तरता दिइरहेको छ।






Leave a Reply