
ग्लोबल आईएमई बैंकले त्रिशुली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा ठूलो मात्रामा कटान र डुबान भएको छ । प्राकृतिक विपद्का कारण मानवीय क्षतिसँगै स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत उल्लेख्य क्षति पुगेको बैंकले जनाएको छ ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । बेपत्ता नागरिकको खोज तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई खाद्यान्न र सुरक्षित आवासको व्यवस्था तथा क्षतिग्रस्त पूर्वाधारको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको बैंकले स्पष्ट पारेको छ ।
ग्लोबल आईएमई बैंकले राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रकारका सहयोग गर्दै आएको जनाएको छ । यसअघि पनि मुलुकका विभिन्न स्थानमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा बैंकले आर्थिक, भौतिक र मानवीय सहायता उपलब्ध गराएको थियो ।
हालको सहयोगमार्फत बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहतदेखि पुनर्स्थापनासम्मका प्रयासमा योगदान पुग्ने अपेक्षा बैंकले गरेको छ ।






Leave a Reply