
बुधबार रसुवा, नुवाकोट, धादिङ र गोर्खाका त्रिशुली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता र प्रभावित पर्यटकको खोजी तथा उद्धारलाई सरकारी निकायले तीव्र बनाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको टिमुरे र भोटेकोशी आसपासबाट हालसम्म २७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। उद्धार अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा सम्बन्धित पर्यटन व्यवसायीहरूबीच समन्वय भइरहेको छ।
बिहीबार अपराह्न सम्मको विवरणअनुसार उद्धार गरिएका पर्यटकहरू चीन, दक्षिण कोरिया, इटाली, संयुक्त राज्य अमेरिका र भारतका नागरिक रहेका छन्। बाढीका कारण जोखिममा परेका तथा घाइते भएका पर्यटकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामलाई प्राथमिकतामा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा अझै यात्रा गरिरहेका वा सम्पर्कविहीन भएका पर्यटकको अवस्थाबारे जानकारी संकलन गर्ने, सम्भावित जोखिम क्षेत्र पहिचान गर्ने र आवश्यक परे तत्काल उद्धार गर्ने कार्य पनि जारी रहेको सम्बन्धित निकायहरूले जनाएका छन्।
सरकारी निकाय, सुरक्षा संयन्त्र, पर्यटन क्षेत्रका प्रतिनिधि तथा स्थानीय तहबीचको समन्वयमार्फत प्रभावित पर्यटकको अवस्था यकिन गर्ने र उनीहरूलाई सुरक्षित स्थानमा पुर्याउने प्रयास भइरहेको छ। उद्धार तथा खोजी अभियानलाई परिस्थिति र प्राप्त सूचनाका आधारमा निरन्तरता दिइने बताइएको छ।






Leave a Reply