
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय देउराली, पाल्पाले रिब्दीकोट गाउँपालिका–२, देउरालीमा रहेको केन्द्र नं. १६ की समूह सदस्य श्रीमती बिन्दु भट्टराईलाई कर्जा बीमाबापत रु. ७,३०,५००।– (अक्षरेपी सात लाख तीस हजार पाँच सय रुपैयाँ) बराबरको बीमा रकम हस्तान्तरण गरेको छ।
समूह सदस्य श्रीमती बिन्दु भट्टराईका श्रीमान् स्वर्गीय केशवराज भट्टराईको ५० वर्षको उमेरमा गत असार २७ गते निधन भएपछि संस्थाको कर्जा बीमा योजनाअनुसार परिवारलाई राहतस्वरूप उक्त बीमा रकम प्रदान गरिएको हो। प्राप्त बीमा रकमले शोकाकुल परिवारलाई आर्थिक राहत पुग्ने विश्वास गरिएको छ।
बीमा रकम हस्तान्तरण कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख श्रीमती विमला अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका–२ का वडा अध्यक्ष श्री ओमप्रसाद पोखरेल रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि पोखरेलले उपकार लघुवित्तले वित्तीय कारोबारसँगै सदस्य तथा समुदायको हितका लागि बिमा कार्यक्रम सहित बिभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो। संस्थाबाट प्राप्त उक्त रकमले सदस्यको परिवारलाई ठूलो आर्थिक राहत पुग्ने उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी, कार्यक्रममा संस्थाका अनुगमन अधिकृत श्री युवराज खड्काले संस्थाले आर्थिक कारोबारसँगै सदस्य तथा समुदायको हितका लागि कर्जा बीमा, सामाजिक सहयोगलगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको जानकारी गराउनुभयो।
कार्यक्रमको अन्त्यमा कार्यक्रम अध्यक्ष विमला अधिकारीले संस्थामार्फत उपलब्ध कर्जा बीमा सुविधाले सदस्यको परिवारलाई परेको दुःखको समयमा ठुलो आर्थिक राहत प्रदान गरेकोमा संस्था लाई धन्यबाद ब्यक्त गरी कर्जा कारोबार गर्दा बैँक तथा वित्तीय संस्था बाट नै गर्न अनुरोध गर्दै कार्यक्रम समापन गर्नु भएको थियो भने कार्यक्रम संचालन देउराली शाखाका शाखा प्रमुख श्री शारदा प्रसाद पाण्डे ले गर्नु भएको थियो ।






Leave a Reply