
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आयोजना गरेको नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको आर्थिक समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको प्रभावकारिता दक्ष, इमानदार र जिम्मेवार इन्जिनियरहरूको भूमिकासँग प्रत्यक्ष जोडिएको बताएका छन्। सरकारी सेवामा प्रवेश गर्नु केवल रोजगारी सुरु गर्नु नभई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने महत्वपूर्ण अवसर भएको बताए।
उनले सरकारी सेवामा प्रवेश गरेपछि इन्जिनियरहरू प्राविधिक जनशक्तिमा मात्र सीमित नरही राष्ट्रसेवकको जिम्मेवारीसमेत निर्वाह गर्नुपर्ने धारणा राखे। इन्जिनियरहरूले गर्ने निर्णय, दिने प्राविधिक सुझाव, गर्ने हस्ताक्षर तथा कार्यसम्पादनले ठूलो संख्यामा नागरिकको जीवनमा प्रभाव पार्ने भएकाले जिम्मेवारी र संवेदनशीलताका साथ काम गर्न उनले आग्रह गरे।
मन्त्री श्रेष्ठले कुनै पनि मुलुकको विकास र समृद्धिमा इन्जिनियरहरूको सिर्जनशीलता, अनुसन्धान, अनुशासन तथा निरन्तर मेहनतको महत्वपूर्ण योगदान रहने बताए। सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलाशय, सिँचाइ प्रणाली, खानेपानी आयोजना, औद्योगिक संरचना र आधुनिक सहर निर्माणमा इन्जिनियरहरूको ज्ञान तथा दूरदृष्टि निर्णायक हुने उनको भनाइ थियो।
इन्जिनियरिङलाई गणित र विज्ञानको प्रयोगमा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै उनले यसलाई जटिल समस्यालाई व्यावहारिक समाधानमा परिणत गर्ने सिर्जनात्मक क्षेत्रका रूपमा बुझ्नुपर्ने बताए। उनका अनुसार सक्षम इन्जिनियरले भौतिक संरचना निर्माणसँगै नागरिकका लागि नयाँ अवसर, विश्वास र भविष्य निर्माणमा समेत योगदान पुर्याउँछन्।
मन्त्री श्रेष्ठले नेपाल ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जाको प्रवद्र्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार, जलस्रोतको प्रभावकारी उपयोग तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरिरहेको बताए।






Leave a Reply