
मोबाइल सेवाको गुणस्तर सुधार गर्दै आम उपभोक्ताको अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर सेवा प्रदायक कम्पनीहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणले ८ बुँदे निर्देशन जारी गरेको छ। प्रेस विज्ञप्तिअनुसार प्राधिकरणले सेवा प्रदायकहरूलाई सेवा गुणस्तर, प्रविधि विस्तार, ग्राहक सेवा तथा महसुल प्रणालीमा आवश्यक सुधार तत्काल लागू गर्न निर्देशन दिएको छ।
निर्देशनअनुसार अब सेवा प्रदायकहरूले मोबाइल नेटवर्कको गुणस्तर र विश्वसनीयता बढाउनुपर्नेछ। साथै, ग्राहकले प्राप्त गर्ने सेवाको स्तर प्राधिकरणले तोकेका मापदण्डअनुसार रहेको पुष्टि गर्न नियमित रूपमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
देशभर फोरजी सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा प्रमुख सहरबाट फाइबजी सेवा विस्तारका लागि चरणबद्ध योजना तयार गरी पेश गर्न निर्देशन दिएको छ। साथै, उच्च गतिको ब्रोडब्यान्ड सेवा नपुगेका ग्रामीण तथा औद्योगिक क्षेत्र पहिचान गरी नेटवर्क विस्तार गर्न र सेवा पुगेका स्थानहरूको विवरण नेपालको नक्सामा प्रत्येक त्रैमासिक अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ। ग्राहकका गुनासा छिटो र प्रभावकारी रूपमा समाधान गर्न २४सै घण्टा सेवा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ। यसका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत आधुनिक प्रविधिको उपयोग गरी उजुरी व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन भनिएको छ।
साइबर सुरक्षा तथा नेटवर्क सुरक्षालाई सुदृढ बनाउन नियमित सुरक्षा परीक्षण (सेक्युरिटी अडिट), डिजास्टर रिकभरी योजना र बिजनेस कन्टिन्युटी प्लान लागू गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, रेडियो फ्रिक्वेन्सीको प्रभावकारी उपयोग सुनिश्चित गर्दै पूर्वाधारमा दोहोरो लगानी घटाई राष्ट्रिय स्रोतको अधिकतम सदुपयोग गर्न सेवा प्रदायकहरूलाई भनिएको छ। सेवा शुल्क निर्धारणलाई थप वैज्ञानिक, पारदर्शी र बजारको आवश्यकता अनुरूप बनाउन प्राधिकरणले सेवा प्रदायकहरूलाई ‘कस्ट–बेस्ड ट्यारिफ एनालिसिस’ तयार गरी प्रस्ताव पेश गर्न निर्देशन दिएको छ। प्रविधिको विकास र बजारको अवस्थाअनुसार महसुल संरचनाको नियमित पुनरावलोकन गर्न पनि भनिएको छ।






Leave a Reply