
काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सेवा देशभर करिब तीन सातादेखि प्रभावित बनेको छ। यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू गरेको नयाँ ‘इडीएलभिआरएस (eDLVRS)’ प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण नयाँ आवेदन, नवीकरण, वर्ग थप, राजस्व भुक्तानी तथा परीक्षासम्बन्धी अधिकांश सेवा नियमित हुन सकेका छैनन्।
हाल देशभरका यातायात कार्यालयहरूले यसअघि नै छापिएका लाइसेन्स वितरणको काम भने निरन्तर गरिरहेका छन्। तर नयाँ आवेदन तथा अन्य सेवामा भने सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले साउन ११ गते अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय सार्वजनिक गरिसकेको छ। यसअघि मन्त्रालयले साउन ८ गते पनि यस्तै सूचना जारी गरेको थियो।
मन्त्रालयका अनुसार यातायात सेवा थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले नयाँ प्रणाली सञ्चालनमा ल्याइएको हो। तर पुरानो प्रणालीबाट नयाँ प्रणालीमा डाटा स्थानान्तरण, सर्भर व्यवस्थापन तथा प्राविधिक तयारी पूरा हुन नसक्दा सेवा नियमित सञ्चालनमा कठिनाइ भएको जनाएको छ। प्राविधिक समस्या समाधान भएलगत्तै सेवा पुनः सञ्चालन गरिने मन्त्रालयको भनाइ छ।
यो समस्या बागमती प्रदेशमा मात्र सीमित नरही देशभरका सातै प्रदेशका यातायात कार्यालयमा देखिएको छ। विभागले पुरानो प्रणाली बन्द गरी नयाँ सर्भरमार्फत सेवा सञ्चालन गर्न निर्देशन दिएपछि विभिन्न प्राविधिक जटिलता उत्पन्न भएको कर्मचारीहरू बताउँछन्।
नयाँ eDLVRS प्रणालीमार्फत लाइसेन्ससम्बन्धी अधिकांश सेवा अनलाइनबाटै उपलब्ध गराउने लक्ष्य राखिएको थियो। आवेदन दर्ता, नवीकरण, राजस्व भुक्तानी, बायोमेट्रिक विवरण अद्यावधिक तथा स्वास्थ्य परीक्षणजस्ता प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न हुने व्यवस्था गरिएको थियो। सेवाग्राहीलाई लिखित परीक्षा, ट्रायल र लाइसेन्स प्राप्तिका लागि मात्र कार्यालय पुग्नुपर्ने अवधारणा बनाइएको थियो।
तर पर्याप्त परीक्षणबिनै प्रणाली सञ्चालनमा ल्याइएकाले अपेक्षाभन्दा बढी प्राविधिक त्रुटि देखिएको कर्मचारीहरूको भनाइ छ। प्रणालीमा लाइसेन्स नम्बर सिर्जना नहुने, सेवाग्राहीको विवरण नमिल्ने, राजस्व रकम फरक देखिने तथा डाटामा त्रुटि आउने समस्याका कारण सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।






Leave a Reply