महाकाली नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेपछि शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे सवारीसाधन सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ।
आज बिहान नदीको बहाव एक लाख क्युसेक नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा सवारी आवतजावत रोकिएको हो। दिउँसो १ः३० बजेसम्मको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख २४ हजार ४५४ क्युसेक पुगेको छ।
प्रहरी नायब उपरीक्षक रावतका अनुसार बिहानको तुलनामा दिउँसो नदीको जलप्रवाह थप बढेकाले सुरक्षाका दृष्टिले चारपाङ्ग्रे सवारीसाधनलाई ब्यारेज पार गर्न रोक लगाइएको हो। सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको मात्रा उल्लेख्य रूपमा बढिरहेको छ। वर्षा अझै जारी रहेकाले नदीको बहाव थप बढ्ने सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ।
यसैबीच, महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा आगामी केही दिन मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्दै साना नदी, खोला र नालामा आकस्मिक बाढी आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।




