spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारमोदी खोलाको बाढीपछि घान्द्रुक जाने सडक अवरुद्ध, करिब ३०० पर्यटक गाउँमै रोकिए

मोदी खोलाको बाढीपछि घान्द्रुक जाने सडक अवरुद्ध, करिब ३०० पर्यटक गाउँमै रोकिए

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित स्याउलीबजार नजिक मोदी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि नयाँपुल–विरेठाँटी–घान्द्रुक सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक सम्पर्क विच्छेद भएपछि घान्द्रुक भ्रमणमा पुगेका करिब ३०० पर्यटक गाउँमै रोकिएका छन्।

अन्नपूर्ण गाउँपालिका–११ मा रहेको किम्रुङ खोला थुनिएपछि आएको बाढीका कारण मोदी खोलाको बहाव बढ्दा सडक क्षतिग्रस्त भएको हो। यस घटनापछि घान्द्रुकसँगको मुख्य सडक सम्पर्क टुटेको छ।

सडक अवरुद्ध भए पनि पैदल यात्रा भने सञ्चालनमा रहेको जनाइएको छ। तर निजी सवारीसाधन तथा अन्य गाडी लिएर पुगेका पर्यटकहरू सडक खुल्ने प्रतीक्षामा घान्द्रुकमै बस्न बाध्य भएका छन्।

घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङका अनुसार लगातारको सार्वजनिक बिदाको अवसरमा घुम्न पुगेका करिब ३०० पर्यटक अहिले सडक अवरुद्ध भएपछि फर्किन सकेका छैनन्। अधिकांश पर्यटक आफ्नै सवारीसाधनमा पुगेकाले उनीहरू सडक सञ्चालन हुने आशामा बसेका छन्। साना सवारीका लागि वैकल्पिक मार्गको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो।

गाउँपालिकाका अनुसार मोटरसाइकल र स्कुटरमा आएका पर्यटकलाई घान्द्रुक–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी जोड्ने कच्ची सडक प्रयोग गराउन आवश्यक मर्मत कार्य भइरहेको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक भ्रमणमा आएका तथा अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा रहेका पर्यटकलाई सहज आवागमन गराउने उपायबारे स्थानीय प्रशासन र प्राविधिक टोलीसँग समन्वय भइरहेको बताउनुभयो।

उहाँका अनुसार वर्षा कम हुँदै गएको र मोदी खोलाको बहाव पनि घट्दो क्रममा रहेकाले सडक बगेको स्थानमा कम्तीमा एकतर्फी रूपमा सवारी सञ्चालन गर्न सकिने सम्भावनाबारे प्रशासनसँग छलफल भइरहेको छ।

घान्द्रुक अन्नपूर्ण आधार शिविर (एबिसी) तथा घोरेपानी–पुनहिल पदमार्गको प्रमुख प्रवेशद्वारका रूपमा परिचित पर्यटकीय गन्तव्य हो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here