काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर सम्बन्धी मुद्दामा प्रभु बैंक लिमिटेडका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार ५० वर्षीय डंगोल बैंकबाट प्रवाह भएको कर्जाको दुरुपयोग गर्ने तथा गराउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो। उक्त मुद्दामा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनमाथि पनि अनुसन्धान भइरहेको छ।
ललितपुर महानगरपालिका–२७ निवासी डंगोललाई पाटन उच्च अदालतबाट पक्राउ पूर्जी जारी भएपछि चैत २ गते काठमाडौंको थापाथलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्। प्रहरीले बैंकिङ कसूरसँग सम्बन्धित थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।




