काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा पनि बदली रहने अनुमान गरिएको छ भने तराईका अधिकांश भू–भागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले रातिको समयमा पनि कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहने जनाएको छ। कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ।
महाशाखाले पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न नागरिकलाई मौसमको अवस्थाबारे जानकारी राखेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




