काठमाडौं – गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे (राजीव गुरुङ) कैद सजाय पूरा गरी बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
उनी २०६१ सालमा काठमाडौँको महाराजगञ्जमा ‘चक्रे मिलन’ भनिने मिलन गुरुङमाथि धारिलो हतियार प्रहार गरेको घटनामा दोषी ठहर भएका थिए। उक्त घटनामा ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
सर्वोच्च अदालतले उच्च अदालत पाटनको फैसला सदर गरेपछि मनाङे पक्राउ परेका थिए। उनले बाँकी रहेको कैद सजाय भुक्तान गरेपछि कारागारबाट छुटेका हुन्।
मनाङे यसअघि पनि विभिन्न चरणमा कैद भुक्तान गरिसकेका थिए। २०८१ कात्तिकमा पक्राउ परेपछि बाँकी रहेको सजाय पूरा गरी उनी रिहा भएका हुन्।




