काठमाडौं — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जित्न सफल भएको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार निर्वाचन परिणामको समीक्षा गर्दै उनले यस्तो बताएका हुन्।
घिसिङले परिवर्तनको अपेक्षासहित ठूलो जनसमर्थन देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना दिएका छन्। उनले नयाँ सरकारले देशका लागि गर्ने सकारात्मक काममा आफ्नो पार्टीले समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने स्पष्ट पारे।
लामो स्टाटस लेख्दै उनले देशको प्रशासनिक ढिलासुस्ती र विकास प्रणालीको आलोचना गरेका छन्। एउटा पुल बनाउन वर्षौँ लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने प्रवृत्तिले विकास अवरुद्ध भएको उनको भनाइ छ। घोषणाभन्दा कार्यान्वयन कमजोर हुँदा बजेट खर्च हुन नसकेको र जनताको अपेक्षा बारम्बार निराशामा बदलिएको उनले उल्लेख गरेका छन्।
घिसिङले आफ्नो नेतृत्वमा भएका केही कामहरू पनि स्मरण गरेका छन्। १८ घण्टासम्म हुने लोडसेडिङको अन्त्य, ५८ प्रतिशतबाट ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण विस्तार तथा नेपाललाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बनाउने काम आफ्नो नेतृत्वमा सम्भव भएको उनले बताएका छन्। “लोडसेडिङ अन्त्यजस्ता काम गरेर हामीले जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ,” उनले लेखेका छन्।
यसका साथै उनले बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउने, मेलम्ची खानेपानी आयोजना सुचारु गर्ने, तातोपानी नाका खुलाउने तथा अलपत्र परेका आयोजनाका ठेक्का तोड्ने जस्ता कामहरू पनि आफ्नो कार्यकालका उपलब्धि भएको दाबी गरेका छन्।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री, सुरक्षा निकाय र मतदाताप्रति धन्यवाद व्यक्त गर्दै घिसिङले छोटो समयमा जनताबाट प्राप्त माया र सद्भाव आफ्नो लागि ठूलो ऊर्जा भएको बताएका छन्। परिणामबाट निराश नभएको भन्दै उनले “उज्यालो नेपाल निर्माण” अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार जेन–जी आन्दोलनपछि सम्पन्न भएको यो निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार र अकर्मण्यताविरुद्धको परिवर्तनको अवसर पनि हो।




