नेपालबाट सञ्चालन हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरू अनिश्चित अवधिका लागि स्थगित भएका छन्। मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र सुरक्षा जोखिमका कारण युद्धग्रस्त देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने कुनै पनि अन्तर्राष्ट्रिय जहाज उडान गर्न नसकेको हो।
विमानस्थलका प्रवक्ता सन्तोष कुमार बस्नेतका अनुसार प्रभावित क्षेत्रको एयर स्पेस बन्द भएकाले बाध्य भएर उडान रोकिनुपरेको जानकारी दिएका छन्। उनका अनुसार सम्बन्धित देशहरूको आकाशमार्ग पुनः सञ्चालनमा नआएसम्म नेपालबाट बाहिरिने अन्तर्राष्ट्रिय उडान सुरु हुने सम्भावना छैन।
हाल विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सका जहाजहरू विमानस्थल परिसरमै पार्किङमा राखिएका छन्। प्रवक्ता बस्नेतले सबै विमानहरूलाई उडानका लागि तयारी अवस्थामा राखिएको र रुट खुला भएको आधिकारिक सूचना प्राप्त हुनासाथ सेवा सुचारु गरिने बताए। तर, बन्द गरिएको हवाई क्षेत्र कहिले खुल्ने भन्ने विषयमा अझै स्पष्ट जानकारी प्राप्त नभएको विमानस्थल प्रशासनले जनाएको छ।
विशेषगरी इरान, इजरायल, सिरिया र लेबनानलगायत मध्यपूर्वका मुलुकहरूमा युद्ध र हवाई आक्रमणको उच्च जोखिम देखिएकाले त्यस क्षेत्रको आकाशमार्ग पूर्ण रूपमा बन्द छ। अमेरिका, इजरायल र इरानबीच बढ्दो द्वन्द्वका कारण एसियालाई युरोप र अमेरिकासँग जोड्ने प्रमुख अन्तर्राष्ट्रिय हवाई रुटसमेत प्रभावित बनेको छ।
यस अवस्थाले यात्रुहरूमा अन्योल सिर्जना गरेको छ भने अन्तर्राष्ट्रिय आवागमन पूर्ण रूपमा ठप्प भएको छ।




