काठमाडौं — निर्वाचन आयोग ले मतदातालाई राजनीतिक दलका प्रतिनिधि वा उम्मेदवारबाट कुनै पनि प्रकारको उपहार, पुरस्कार, नगद वा जिन्सी सामग्री नलिन कडा चेतावनी दिएको छ। आयोगले निर्वाचनको निष्पक्षता र पारदर्शिता कायम राख्न यस्तो कार्य कानुनविपरीत हुने स्पष्ट पारेको हो।
आयोगका अनुसार मतदानको अधिकार प्रयोग गरेबापत कुनै किसिमको बक्सिस, इनाम, आर्थिक प्रलोभन वा सार्वजनिक भोजमा सहभागी हुनु समेत गैरकानुनी मानिनेछ। निर्वाचन प्रक्रियालाई प्रभाव पार्ने उद्देश्यले दिइने यस्ता प्रलोभनले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने आयोगको भनाइ छ।
आयोगले यस्ता गतिविधिमा संलग्न पाइएमा सम्बन्धित मतदातालाई ५० हजार रुपैयाँसम्म जरिवाना, ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने जनाएको छ। साथै, उम्मेदवार वा दलका प्रतिनिधिले मतदाता प्रभावित पार्ने उद्देश्यले नगद वा जिन्सी वितरण गरेमा उनीहरूविरुद्ध पनि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
आयोगले सबै मतदातालाई कुनै पनि किसिमको प्रलोभनमा नपरी स्वतन्त्र र विवेकपूर्ण रूपमा मतदान गर्न आग्रह गरेको छ। साथै, यस्ता गैरकानुनी गतिविधि देखिएमा नजिकको निर्वाचन कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन समेत अपिल गरेको छ।




