काठमाडौं – आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएका रौतहट जिल्लाका सम्पूर्ण सीमा नाका आज राति १० बजेदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनाअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सीमा नाका बन्द गर्ने निर्णय गरिएको हो।
प्रशासनका अनुसार फागुन १८ गते (२ मार्च २०२६) सोमबार राति १० बजेदेखि फागुन २१ गते (५ मार्च २०२६) बिहीबार राति १० बजेसम्म जिल्लाका सबै सीमा नाका बन्द रहनेछन्।
सीमावर्ती क्षेत्रमा हुने आवतजावत नियन्त्रण गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन यो निर्णय गरिएको जनाइएको छ। उक्त अवधिमा सीमा क्षेत्र हुँदै हुने आवतजावत तथा गतिविधिमा कडाइ गरिनेछ।
जिल्ला प्रशासन कार्यालयले निर्णय कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ भने आम नागरिकलाई सूचनाको पालना गर्न र अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।




