इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न महत्वपूर्ण रणनीतिक स्थानहरूमा “प्रि–एम्प्टिभ” अर्थात् अग्रिम सुरक्षात्मक हवाई आक्रमण सुरु गरेका छन्। सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई द्वन्द्वपछि यो सबैभन्दा ठूलो र निर्णायक सैन्य कदमका रूपमा हेरिएको छ।
इजरायली रक्षा बल (आईडीएफ) ले उक्त अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। इजरायली रक्षा मन्त्रालयका अनुसार यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र विकास क्षमतालाई निष्क्रिय पार्ने लक्ष्यका साथ सञ्चालन गरिएको हो। मन्त्रालयले इरानबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षात्मक जोखिमलाई समयमै नियन्त्रण गर्न यो कदम आवश्यक भएको दाबी गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार इरानले पनि प्रतिरक्षात्मक आक्रमण सुरु गरिसकेको छ। आक्रमण सुरु भएपछि इजरायली रक्षामन्त्री इजरायल काट्जले तेल अभिभबाट राष्ट्रका नाममा सम्बोधन गर्दै यो सैन्य कदम देशको सुरक्षाका लागि अपरिहार्य रहेको बताए। उनले इजरायलमाथि आउन सक्ने “तत्काल र अस्तित्वसँग जोडिएको खतरा” लाई निष्प्रभावी बनाउन अग्रिम प्रहार गरिएको स्पष्ट पारे।
उनले नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यकता परे कुनै पनि स्तरसम्म जान तयार रहेको बताए। परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै इजरायलभरि ‘राष्ट्रिय संकटकाल’ घोषणा गरिएको छ। नागरिकहरूलाई सुरक्षित बंकरमा बस्न, विद्यालय तथा सार्वजनिक स्थलहरू बन्द गर्न र सरकारी निर्देशनको पालना गर्न आग्रह गरिएको छ।
क्षेत्रीय सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने यस घटनाले मध्यपूर्वमा तनाव थप चर्किने संकेत देखिएको छ।




