काठमाडौँ — हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असर विशेषगरी पहाडी तथा हिमाली भूभागमा देखिएको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। अन्य भूभागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ।
आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। साथै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।
मौसमविद्हरूले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।




