
काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। लगातार तीन कारोबार दिन सामान्य वृद्धि देखिएको बजारमा शुक्रबार भने सूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा कायम भएको हो।
शुक्रबार सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले बढेको छ। यता फ्लोट इण्डेक्स ०.४० अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्।
सूचक घटे पनि बजारको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३४४ स्टकको ४३ हजार ६० पटकको कारोबारबाट ९७ लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ। कुल कारोबार रकम ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँ पुगेको छ।
शुक्रबार दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट नजिक पुगेको छ। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र विकास हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि करिब ७ प्रतिशतले उकालो लागेको छ।
यसको विपरीत सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ। उक्त कम्पनीको शेयरमूल्य १२.८३ प्रतिशतले ओरालो लागेको हो।
कारोबार रकमका हिसाबले एग्रीकल्चरल बण्ड (९ वर्षे) सबैभन्दा अगाडि रहेको छ। उक्त बण्डको ७० करोड ८७ लाख ९९ हजार रुपैयाँबराबरको कारोबार भएको छ। खानी खोला हाइड्रोपावरको करिब १८ करोड रुपैयाँको शेयर कारोबार हुँदा लिबर्टी इनर्जीको कारोबार रकम साढे १६ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
उपसमूहतर्फ मिश्रित प्रदर्शन देखिएको छ। १३ मध्ये चार उपसमूहको सूचक बढ्दा नौ वटा उपसमूह घटेका छन्। जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहमा सामान्य वृद्धि भएको छ। व्यापार उपसमूह भने सबैभन्दा धेरै प्रभावित भएको छ, जसको सूचक २.५७ प्रतिशतले घटेको छ।





Leave a Reply