प्रधानमन्त्री वालेन्द्र शाहले देशको आर्थिक समृद्धि र आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्यमशीलता प्रवर्द्धन र रोजगारी विस्तारका लागि यस क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पुँजी बजारसँग सम्बन्धित सरोकारवाला र नियामक निकायका प्रतिनिधिसँग भएको छलफलमा उहाँले व्यवसायीलाई आत्मविश्वासका साथ काम गर्न आग्रह गर्नुभयो। काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने र अनियमितता तथा गल्तीप्रति शून्य सहनशीलताको नीति सरकारले अवलम्बन गरेको उहाँको भनाइ थियो। छलफलका क्रममा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूले पुँजी बजारको दीर्घकालीन विकासका लागि कानुनी, नीतिगत, संस्थागत तथा प्रणालीगत सुधार अपरिहार्य रहेको धारणा राखेका थिए।
प्रधानमन्त्रीसँगको भेटपछि आफूहरू सकारात्मक सन्देशसहित फर्किएको जनाउँदै उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीमा सुधार, दोस्रो बजारमा माग–आपूर्तिको सन्तुलन कायम गर्ने व्यवस्था तथा दैनिक कारोबार रकम करिब ३० अर्ब रुपैयाँसम्म पुग्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
उनीहरूले बैंक तथा वित्तीय संस्थामार्फत सञ्चालन हुने ‘मार्जिन’ कारोबारका लागि ब्रोकर कम्पनीहरूलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत कदम चाल्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्। यस्तै, बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने हालको व्यवस्था हटाउन, साथै सेयर धितो कर्जाको सीमा प्राथमिक पुँजीसँग जोड्नुको सट्टा कुल कर्जाको पाँच प्रतिशत कायम गर्ने व्यवस्था लागू गर्नुपर्ने माग पनि राखिएको थियो।
सरोकारवालाले अर्थ मन्त्रालयसँग व्यक्तिगत धितोपत्र कारोबारबाट हुने नोक्सानीमा कर समायोजनको व्यवस्था गर्न, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा सक्रिय बनाउन तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रणनीतिक साझेदारसहित पुनःसंरचना गर्नुपर्ने सुझाव दिएका छन्। साथै, गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्ने अवसर उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
उक्त छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको सहभागिता रहेको थियो। नियामक निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाबाट प्राप्त सुझावलाई समेट्दै बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र २०८३ कार्यान्वयनमा ल्याइसकेको जानकारी दिनुभयो।
नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बिमा तथा पुँजी बजारसँग सम्बन्धित आवश्यक कानुनको मस्यौदा तथा संशोधन प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै नेप्सेको पुनःसंरचनाका लागि उपयुक्त मोडल तयार गरी कार्यान्वयन गरिने बताउनुभयो। साथै, धितोपत्र बोर्डका नीतिअनुसार प्रविधि तथा प्रणाली विकास गर्दै धितोपत्र कारोबारलाई अझ प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।




