काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा लिएर देशको आर्थिक विकास र समृद्धिको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उद्योगी तथा व्यवसायीसँगको भेटघाटका क्रममा उहाँले सरकारले निजी क्षेत्रलाई निरुत्साहित गर्ने वा व्यवसाय सञ्चालनमा अवरोध सिर्जना गर्ने नीति नलिएको स्पष्ट पार्नुभयो।
उहाँले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभई लगानी, उत्पादन र रोजगारी वृद्धि गर्दै देश निर्माण गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो। आर्थिक गतिविधिलाई सुदृढ बनाउन निजी क्षेत्रको योगदान अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र समन्वय अझ सुदृढ हुनुपर्ने धारणा राख्नुभयो।
प्रधानमन्त्री शाहले व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या र नीतिगत जटिलताबारे स्पष्ट रूपमा जानकारी गराउन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभयो। समस्या तथ्य र प्रमाणसहित प्रस्तुत भए सरकारले आवश्यक अध्ययन गरी समाधानका लागि पहल गर्ने उहाँको भनाइ थियो।
उहाँले निजी क्षेत्रको विकाससँगै उत्पादन, निर्यात, रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने भएकाले सरकारले लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिएको पनि बताउनुभयो। सरकार आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धतिसमेत उहाँले व्यक्त गर्नुभयो।




