जुम्लामा उत्पादन हुने स्याउप्रति नेपाली उपभोक्ताको आकर्षण निरन्तर बढ्दै गएको छ। स्वास्थ्यका दृष्टिले पनि चिकित्सकहरूले स्याउलाई गुणस्तरीय फलका रूपमा लिने गरेका छन्। विशेषगरी बोक्रासहित स्याउ सेवन गर्दा पर्याप्त फाइबर प्राप्त हुने भएकाले पेटसम्बन्धी समस्या कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा एक करोड ८२ लाख ४५ हजार केजी स्याउ उत्पादन भएको थियो। कुल उत्पादनमध्ये करिब ७० प्रतिशत अर्थात् एक करोड २६ लाख ५४ हजार केजी स्याउ नेपाली बजारमै बिक्री भएको छ।
त्यसै अवधिमा उत्पादनको झण्डै ३० प्रतिशत बराबर ५५ लाख ९१ हजार केजी स्याउ भारत निर्यात गरिएको कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो। भारत निर्यात गरिएको स्याउबाट जुम्लाले गत आर्थिक वर्षमा रु ४१ करोड ३७ लाख ३४ हजार आम्दानी गरेको छ। प्रतिकेजी रु ७४ का दरले बिक्री भएको उक्त स्याउलाई भारतीय बजारमा ‘पहाडी चिसो स्याउ’का रूपमा उपभोक्ताले मन पराउने गरेका छन्।
भारतीय बजारमा माग बढ्दै गएपछि चालु आर्थिक वर्ष २०८३/८४ मा करिब दुई करोड ७० हजार केजी स्याउ उत्पादन गर्ने लक्ष्य लिइएको छ। सो लक्ष्यअनुसार झण्डै रु ८० करोड बराबरको स्याउ भारत निर्यात गर्ने योजना बनाइएको कृषि विकास कार्यालयले जनाएको छ।
बाहिरी रूपमा अत्यधिक आकर्षक नदेखिए पनि गुलियो स्वादका कारण ‘जुम्ली स्याउ’को लोकप्रियता नेपाली र भारतीय बजारमा निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ। हाल जुम्लामा चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती भइरहेको छ। चालु आर्थिक वर्षमा थप १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य राखिएको छ।
उत्पादन र गुणस्तर दुवै बढाउने उद्देश्यले गत पुसदेखि माघसम्म जिल्लाका ८०० किसानलाई स्याउ बगैँचा काटछाँटसम्बन्धी अभियानमा सहभागी गराइएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। उहाँका अनुसार यस अभियानबाट स्याउका दाना ठूला, आकर्षक, स्वादिष्ट तथा राम्रो रङका हुने अपेक्षा गरिएको छ, जसले किसानलाई अझ राम्रो मूल्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।




