
पहिरोका कारण सडकको मुख्य भाग भासिएपछि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको क्षेत्रमा खोलिएको ट्र्याकलाई फराकिलो बनाउने काम सुरु भएको छ। पृथ्वी राजमार्ग पुनः सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो क्षेत्रमा रुख कटान तथा झाडी सफा गरेर ट्र्याक निर्माण गरिएको हो।
नौबिसे–मुग्लिन सडक अन्तरगत कृष्णभीरमा पहिरो गएको स्थानभन्दा माथिबाट निरन्तर काम अघि बढाउँदै डाँडाको माथिल्लो भागमा दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ। यसअघि खोलिएको ट्र्याकलाई अहिले थप चौडा बनाउने काम भइरहेको छ।
इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार ट्र्याक निर्माण भए पनि सर्वसाधारणका सवारीसाधन सञ्चालन गर्नुअघि अझै महत्वपूर्ण कामहरू पूरा गर्नुपर्नेछ। माथिल्लो भागको भित्ता काट्ने, सडक चौडा पार्ने, ग्राभेल बिछ्याउने, ग्रेड मिलाउने तथा डिजाइनअनुसार पहिरो नियन्त्रण र व्यवस्थापन गर्ने काम बाँकी छन्।
आयोजनाले भदौ महिनाभित्र सर्वसाधारणका सवारीसाधन सञ्चालन गर्न सकिने गरी कामलाई तीव्रता दिएको छ। आवश्यक प्राविधिक सामग्री तथा जनशक्ति उपलब्ध रहेकाले अब स्वीकृत डिजाइनअनुसार निर्माण कार्य अघि बढाउन सहज भएको इञ्जिनियर मिश्रले बताए।
हाल सञ्चालनमा ल्याइएको ट्र्याक भने मुख्यतः निर्माणमा खटिएका कामदारको आवतजावत तथा निर्माण सामग्री र उपकरण ढुवानीका लागि प्रयोग भइरहेको छ। सर्वसाधारणका लागि सडक खोल्नुअघि आवश्यक संरचनागत तथा सुरक्षा सम्बन्धी काम सम्पन्न गरिने आयोजनाले जनाएको छ।






Leave a Reply