Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रसुवा बाढीपीडित प्रहरी परिवारलाई १० लाख राहत, उद्धार कोषमा ४० करोड दिने निर्णय

काठमाडौं — रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले प्रतिपरिवार १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। साथै, नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४०…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले प्रतिपरिवार १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। साथै, नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट संकलित राहत रकमबाट दिवंगत प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोगस्वरूप प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मृतक प्रहरी कर्मचारीका परिवारजनप्रति समवेदनासमेत व्यक्त गरिएको छ।

बाढीपछि हालसम्म सम्पर्कमा आउन नसकेका प्रहरी कर्मचारीको खोजी कार्यलाई थप प्रभावकारी बनाउन परिवारका सदस्यसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय गरिएको छ। मृतक प्रहरी कर्मचारीका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णयसमेत भएको छ।

दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय, साँगा, काभ्रेमा उच्च तहसम्म अध्ययनका लागि शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने भएको छ।

यसैगरी, बाढीबाट प्रभावित प्रहरी एकाइमा कार्यरत प्रहरी कर्मचारीको व्यक्तिगत सामग्रीमा भएको क्षतिका लागि राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/