
भदौ १० को बाडिका कारण त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि खटिएको टोलीले महत्वपूर्ण सफलता हात पारेको छ। तीन दिनदेखि निरन्तर खोज तथा उद्धारमा जुटेको टोलीले अन्ततः ‘केबल एक्सेस टनेल’ पत्ता लगाएको हो।
नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार विद्युत् गृहबाट तार बाहिर ल्याउन प्रयोग हुने सुरुङ भेटिएपछि अब उद्धारको काम थप सहज हुने अपेक्षा गरिएको छ।
उनका अनुसार उक्त सुरुङबाट उद्धार विज्ञलाई भित्र पठाएर सुरुङभित्रको वास्तविक अवस्था बुझ्ने तयारी भइरहेको छ। सुरुङ मानिस प्रवेश गर्न मिल्ने प्रकृतिको भएकाले यही मार्गबाट भित्र रहेका कर्मचारीसम्म पुगेर उद्धार गर्न सकिने विश्वास गरिएको छ।
श्रेष्ठले सुरुङभित्र अक्सिजन पुर्याउने प्रयाससमेत भइरहेको जानकारी दिए। उद्धार टोलीले यसअघि नै पाँचवटा ड्रिलमार्फत सुरुङभित्र हावा पठाउने व्यवस्था गरेको थियो। अक्सिजन पुर्याउने प्वाल हिजै बनाइसकिएकाले सुरुङभित्र फसेका कर्मचारीहरू सुरक्षित रहेको आशा गरिएको उनको भनाइ छ।
यसैबीच, सांसद तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले पनि उद्धार टोलीले सुरुङ पत्ता लगाएको जानकारी दिएका छन्। उनी उद्धारस्थलमै रहेर ड्रिल गर्ने तथा सुरुङभित्रको अवस्था बुझ्ने कार्यको नेतृत्व गरिरहेका छन्।
तीन दिनदेखि जारी खोज तथा उद्धार प्रयासमा ‘केबल एक्सेस टनेल’ फेला परेपछि अब उद्धार विज्ञलाई सुरुङभित्र प्रवेश गराई फसेका कर्मचारीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने र उनीहरूलाई बाहिर निकाल्ने प्रक्रिया अघि बढाइने भएको छ।






Leave a Reply