
रसुवाको भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीपछि विभिन्न स्थानमा फसेका सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५ जना, टिमुरेबाट १३ जना, मैलुङबाट ५ जना, बेतावत्रीबाट ४ जना र त्रिशूली क्षेत्रबाट ३ जनालाई सुरक्षित स्थानमा ल्याइएको हो।
उद्धार गरिएका सबैलाई नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर प्रयोग गरी निकालिएको बताइएको छ। बुधबार भोटेकोशीमा आएको अचानक बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा जनधनको ठूलो क्षति भएको छ।
बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले घाइते तथा बिरामीको उपचारमा कुनै कमी हुन नदिने जनाएको छ। सम्भावित घाइते तथा बिरामीलाई तत्काल उपचार उपलब्ध गराउने र आवश्यक परे शीघ्र अन्य अस्पतालमा पठाउने व्यवस्थासहित काठमाडौंका ६ प्रमुख अस्पताललाई तयारी अवस्थामा राखिएको छ।
मन्त्रालयका अनुसार राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल र नेपाल प्रहरी अस्पताललाई अलर्ट अवस्थामा राखिएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बाढीबाट प्रभावितहरूको उपचार पूर्ण रूपमा निःशुल्क गरिने जानकारी दिएका छन्। पछिल्लो विवरणअनुसार विभिन्न अस्पतालमा २१ जना उपचाररत रहेका छन्।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार कार्यसँगै स्वास्थ्य उपचार र आवश्यक राहत व्यवस्थापनलाई पनि तीव्र बनाइएको छ।






Leave a Reply