
वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै अधिकतम उपयोग गर्ने उद्देश्यले विद्युत् महसुल संरचनालाई थप व्यावहारिक बनाउने तयारीमा सरकार केन्द्रित रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बताएका छन्।
मन्त्री श्रेष्ठले मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिसँग विराटनगरमा भएको छलफलका क्रममा विद्युत् खपत विस्तार गर्ने ,उद्योगको उत्पादन लागत घटाउने र प्रणालीमा उपलब्ध अतिरिक्त ऊर्जा देशभित्रै उपयोग गर्ने लक्ष्यसहित महसुल संरचनामा आवश्यक सुधार गर्न सरकार अघि बढिरहेको जानकारी दिए।
उनका अनुसार सुनसरी–मोरङ क्षेत्रमा थप नौवटा सबस्टेसन निर्माण तथा विस्तारको काम अघि बढिरहेको छ। ती सबस्टेसन सञ्चालनमा आएपछि औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र दीर्घकालीन हुने सरकारको अपेक्षा छ। उद्योगी–व्यवसायीले विद्युत् आपूर्तिसँग सम्बन्धित समस्या भोगिरहेको विषयलाई सरकारले गम्भीर रूपमा लिएको मन्त्री श्रेष्ठले बताए। उद्योगलाई नियमित र गुणस्तरीय विद्युत् उपलब्ध गराउनुका साथै विद्युत् प्रयोगकै कारण अनावश्यक अतिरिक्त आर्थिक भार नपर्ने गरी महसुल समायोजन गर्ने विषयमा सरकार संवेदनशील रहेको उनको भनाइ थियो।
मन्त्री श्रेष्ठले उद्योग स्थापना गर्नुअघि नै आवश्यक विद्युत् क्षमता, प्रसारण लाइन र आपूर्ति पूर्वाधारको अवस्थाबारे स्पष्ट जानकारी पाउने व्यवस्था आवश्यक रहेको बताए। यसका लागि नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा उपलब्ध विद्युत् क्षमता तथा पूर्वाधारसम्बन्धी विवरण नियमित रूपमा उद्योगी–व्यवसायीलाई उपलब्ध गराउनुपर्ने उनको धारणा थियो।
उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् उपलब्धता पहिल्यै सुनिश्चित गर्न सकिने प्रणाली विकास भएमा लगानीकर्ताले उद्योग स्थापना गर्नुअघि पूर्वाधारको अवस्था बुझ्न सहज हुने मन्त्री श्रेष्ठले बताए। यसले औद्योगिक विस्तारसँगै विद्युत्को आन्तरिक खपत बढाउन र उपलब्ध ऊर्जाको प्रभावकारी उपयोग गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।






Leave a Reply