
महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूले झुठा मुद्दा फिर्ताको माग गर्दै शनिबार बिहानदेखि बीपी राजमार्गमा चक्काजाम गरेका छन्। गत जेठ ११ गते स्थानीय र वन प्रशासनबीच भएको विवादपछि चार जनामाथि दर्ता गरिएको मुद्दा झुठो भएको दाबी गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
यसअघि बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपित चार जना निर्दोष रहेको निष्कर्ष निकाल्दै तीन दिनभित्र मुद्दा फिर्ता गराउने पहल गर्न बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीलाई जिम्मेवारी दिएको थियो।
सोही निर्णयअनुसार बिहीबार नगरपालिकाको सभाहलमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, प्रहरी प्रशासन तथा प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको थियो। बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुद्दा दर्ता भइसकेको र अनुसन्धान प्रक्रियामा रहेकाले तत्काल फिर्ता लिने निर्णय आफ्नो अधिकारक्षेत्रभित्र नरहेको बताएका थिए। यसपछि बैठक कुनै ठोस निष्कर्षमा पुग्न सकेन।
नगरप्रमुख क्षेत्रीले प्रशासनलाई दिइएको तीन दिने समयसीमा शुक्रबार समाप्त हुने जानकारी बैठकमै गराएका थिए। तोकिएको समयभित्र माग सम्बोधन नभएपछि स्थानीयले शनिबारदेखि सडक अवरुद्ध गर्दै आन्दोलन सुरु गरेका हुन्।
आन्दोलनरत पक्षले स्थानीयमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन, घटनामा संलग्न डिभिजन वन कार्यालय ९डीएफओ० का जिम्मेवार अधिकारीमाथि कारबाही गर्न तथा घटनापछि भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन्।
राजमार्ग अवरुद्ध भएपछि अत्यधिक व्यस्त रहने बीपी राजमार्गमा सयौं सवारीसाधन रोकिएका छन् भने यात्रुहरूले पनि सास्ती बेहोर्नुपरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरका अनुसार कालापानी घटनासम्बन्धी मुद्दा असार १९ गते दर्ता भएको हो र हाल त्यसको अनुसन्धान जारी छ।






Leave a Reply