
काठमाडौं — देशभर मनसुनी वायु सक्रिय रहेकाले बुधबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि बढेको हो।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका थोरै स्थान र पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद्हरूले भारी वर्षाको सम्भावना भएका क्षेत्रमा नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।






Leave a Reply