spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारसर्पदंशपछि बालकको मृत्यु, सिरहाको भगवानपुरमा प्रदर्शन र सडक अवरुद्ध

सर्पदंशपछि बालकको मृत्यु, सिरहाको भगवानपुरमा प्रदर्शन र सडक अवरुद्ध

सिरहाको भगवानपुर गाउँपालिकामा तनाव उत्पन्न भएको छ। सर्पदंशबाट घाइते भएका एक बालकको उपचारमा ढिलाइ भएको र समयमै एम्बुलेन्स उपलब्ध नगराइएको भन्दै स्थानीयवासीले स्वास्थ्य संस्थामा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन्। भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई थप उपचारका लागि समयमै अन्यत्र पठाउन नसकिएको भन्दै आफन्त र स्थानीयले गम्भीर लापरबाही भएको आरोप लगाएका छन्।

एम्बुलेन्स चालकका अनुसार गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने जानकारी दिएपछि बिरामीलाई अस्पताल पुर्‍याउन ढिलाइ भएको थियो। उनीहरूले सोही ढिलाइका कारण बालकको बाटोमै मृत्यु भएको दाबी गरेका छन्। स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् भने हुलाकी सडकमा टायर र दाउरा बालेर यातायात अवरुद्ध गरेका छन्। सडक बन्द हुँदा उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

यसैबीच, बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग छलफल गर्ने सहमति भए पनि अध्यक्ष वार्तामा उपस्थित नभएको भन्दै प्रदर्शनकारीले असन्तुष्टि जनाएका छन्। आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्षको अनुपस्थितिले आन्दोलन थप उग्र बनेको बताएका छन्।

घटनापछि सुरक्षा अवस्था सामान्य बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेश बहादुर पालले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको बताएका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here