spot_img
25.1 C
Kathmandu
spot_img
Homeसमाचारकाठमाडौंमा एक वर्षमा ११ हजारभन्दा बढी अपराधका मुद्दा, बैंकिङ कसुर सबैभन्दा बढी

काठमाडौंमा एक वर्षमा ११ हजारभन्दा बढी अपराधका मुद्दा, बैंकिङ कसुर सबैभन्दा बढी

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंमा आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। सो अवधिमा ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरले आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ वटा अपराधका घटना दर्ता भएकामा गत आर्थिक वर्षमा त्यसको संख्या घटेर ११ हजार ८७ पुगेको जानकारी दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार सबैभन्दा बढी बैंकिङ कसुरका उजुरी दर्ता भएका छन्। त्यसपछि अभद्र व्यवहार, चोरी, ठगी, लागूऔषध, आत्महत्या, जबरजस्ती करणी, ज्यान मार्ने उद्योगलगायतका मुद्दा दर्ता भएका छन्।

प्रहरीले सुरक्षा व्यवस्थामा प्रविधिको प्रयोग बढाउँदै एआई क्यामराको सहायताबाट ५९ जना शंकास्पद व्यक्तिको पहिचान गरी पक्राउ गरेको जनाएको छ।

सोही अवधिमा १ सय ४५ थान हातहतियार बरामद गरिएको तथा त्यससँग सम्बन्धित ५२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। साथै १ सय ७५ जना फरार कैदी र ९४ जना थुनुवालाई पनि पक्राउ गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा काठमाडौंमा १ हजार ६ सय वटा धर्ना, ४ सय ४३ वटा विरोध–जुलुस आयोजना भएका थिए। ती गतिविधिका क्रममा ३ सय ५१ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सार्वजनिक सेवा प्रवाह हुने स्थानमा सर्वसाधारणलाई दुःख–हैरानी दिने ३ सय ९ जनालाई पक्राउ गरिएको र ६१ जनाविरुद्ध कानुनी कारबाही अघि बढाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

काठमाडौं प्रहरीका अनुसार साइबर अपराध तथा नयाँ–नयाँ एप्लिकेसनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा त्यस्ता अपराधको पहिचान, निगरानी र नियन्त्रणमा चुनौती थपिएको छ। सचेत नागरिकसमेत अनलाइन ठगीको शिकार भइरहेको तथा सामाजिक सञ्जालमार्फत हुने कुप्रचार र साइबर बुलिङले व्यक्तिको पारिवारिक तथा सामाजिक जीवनमा नकारात्मक असर पारिरहेको प्रहरीले जनाएको छ।

अपराध नियन्त्रण र न्यूनीकरणका लागि दैनिक १ हजार १ सय ५० देखि १ हजार १ सय ८० जना प्रहरी फिल्ड तथा विभिन्न चेकपोस्टमा परिचालन गरिने गरेको र दैनिक २ सय २० भन्दा बढी सवारीसाधनको चेकजाँच हुने गरेको पनि प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here