spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचाररौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ

रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरेको छ ।

कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा रु पाँच करोडभन्दा बढी मूल्यबराबरका भन्सार छलीका सामान बरामद गरिएको जनाएको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले वर्षभरि एक हजार १५२ वटा मुद्दा दर्ता भएको जानकारी दिए ।

तीमध्ये ६८० वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ४७२ वटा अनुसन्धानकै क्रममा छन् । त्यस्तै चार हजार ८५० ठाडो उजुरी परेकामा चार हजार ३८० फछ्र्योट भएको र ४७० प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको एसपी रिजालले बताए । उनले भने, “यस अवधिमा ८४७ किलो ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलीग्राम ब्राउन सुगर, चार हजार २६५ नशालु एम्पुल तथा १३ हजार ९१६ वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको छ ।”

अदालतको फैसला कार्यान्वयन अभियानमा प्रहरीले ४४८ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै रु ६९ लाख ७१ हजार ८७४ जरिवाना असुल गरिएको छ ।

अवैध हातहतियार नियन्त्रण अभियानअन्तर्गत छ थान हतियार र ११ राउन्ड गोली बरामद गरिएको छ भने तीन जनालाई पक्राउ गरिएको छ । यस्तै, खोटा मुद्रासम्बन्धी तीनवटा मुद्दामा सात जनाविरुद्ध कारबाही अघि बढाइएको र एक लाख ३६ हजार नक्कली नोट बरामद गरिएको एसपी रिजालले बताए ।

ट्राफिक व्यवस्थापनतर्फ आर्थिक वर्षभरि एक हजार ८८ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको तथा एक हजार ६९६ जना घाइते भएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार २५५ सवारीसाधनलाई कारबाही गर्दा रु एक करोड एक लाख ३७ हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । भन्सार छली नियन्त्रण अभियानमा १८ जनालाई पक्राउ गरी १५५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । यस क्रममा रु पाँच करोड ९२ लाख ५५ हजार ७२१ बराबरका राजस्व छलीका सामान भन्सार कार्यालयमा दाखिला गरिएको एसपी रिजालले बताएका छन्।

प्रहरीले स्रोत नखुलेको रु १३ लाख ६२ हजार २०० सहित चार जनालाई पक्राउ गरेको छ । अवैध सालको काठ बरामद गरी रु पाँच लाख ९५ हजार २२५ राजस्व सङ्कलन भएको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने ३० सवारीसाधनसहित तीन जनालाई पक्राउ गरी रु दुई लाख ५७ हजार ३०० राजस्व सङ्कलन गरिएको छ ।

एक वर्षको अवधिमा एक लाख ३३ हजार ७६४ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय रौतहटबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि १५४ कार्यक्रम सञ्चालन भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here