साउदी अरब हुँदै कुवेतमा बसोबास गरिरहेका नेपाली नागरिक नेपाल फर्किन सक्ने व्यवस्था गरिएको छ। कुवेतको वैध रेसिडेन्ट पर्मिट अर्थात् कुवेती सिभिल आईडी भएका नेपालीले साउदी अरबको ट्रान्जिट मार्ग प्रयोग गरी स्वदेश फर्किन पाउने भएका छन्।
कुवेतस्थित नेपाली दूतावासले सार्वजनिक गरेको सूचनाअनुसार कुवेती सिभिल आईडी भएका नेपाली नागरिकले अनलाइन प्रणालीमार्फत साउदी भिसाका लागि आवेदन दिन सक्नेछन्। आवश्यक भिसा प्राप्त भएपछि उनीहरूले सडकमार्ग प्रयोग गरी साउदी अरब प्रवेश गर्न र त्यहाँको विमानस्थलबाट नेपालतर्फ उडान गर्न सक्ने दूतावासले जनाएको छ।
दूतावासले साउदी भिसाका लागि अनलाइनमार्फत नै आवेदन दिन आग्रह गरेको छ। मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै नेपाल फर्किन चाहने नेपाली नागरिकलाई सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको दूतावासले जनाएको छ।




