काठमाडौँ – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली भएको छ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको बताइएको छ।
त्यस्तै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुन सक्ने जनाइएको छ।
मौसमविद्ले सम्भावित वर्षा र चट्याङ्गका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।




