काठमाडौं – पोखरामा एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने एक ग्यास डिलरलाई प्रशासनले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय कास्की सहितको संयुक्त अनुगमन टोलीले पोखरा–६ जरेबरस्थित भण्डारी ट्रेडर्सलाई कारबाही गरेको हो। अनुगमनका क्रममा उक्त डिलरले ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सारिरहेको अवस्थामा फेला परेपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।
उनका अनुसार १४.२ केजी तौलका ४८ थान ग्यास सिलिन्डर लुकाएर राखिएको पाइएको थियो। साथै सिलिन्डरबाट ग्यास सार्न प्रयोग गरिने तीन थान उपकरणसहित डिलरलाई रंगेहात पक्राउ गरिएको थियो।
प्रशासनले भण्डारी ट्रेडर्समा भेटिएका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर उपभोक्तालाई ‘पहिले आउनेलाई पहिले सेवा’ को आधारमा बिक्री वितरण गर्न निर्देशन दिएको छ।
प्रशासनले आगामी दिनमा ग्यासको परिमाणमा फेरबदल गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा अनावश्यक भण्डारण गर्ने जस्ता उपभोक्ता हितविपरीत गतिविधि नगर्न डिलरलाई चेतावनीसमेत दिएको छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले पोखराका विभिन्न पाँच ग्यास डिलरहरूमा छड्के अनुगमन गरेको थियो। अनुगमनका क्रममा तीन डिलरमा भने कुनै अनियमितता नदेखिएको प्रशासनले जनाएको छ।
त्यसैगरी अर्को एक डिलरमा ७.१ केजीका ३२४ थान ग्यास सिलिन्डर गाडीबाट झार्दै गरेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो।
कास्की प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन तथा कालोबजारी नियन्त्रण गर्न अनुगमनलाई थप तीव्रता दिइने जनाएको छ।




