Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै काठमाडौँ महानगर

काठमाडौं — काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय तथा अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता सुनिश्चित गर्न कडाइ थालेको छ। महानगरले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खाद्य व्यवसायीको क्षमता विकास र नियमित अनुगमनलाई एकसाथ अघि बढाएको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय तथा अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता सुनिश्चित गर्न कडाइ थालेको छ। महानगरले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खाद्य व्यवसायीको क्षमता विकास र नियमित अनुगमनलाई एकसाथ अघि बढाएको जनाएको छ।

कामपाकी खाद्य प्राविधिक भारती अधिकारीका अनुसार महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले विद्यालय तथा अस्पतालका क्यान्टिनहरूमा नियमित अनुगमन गरिरहेको छ। हालसम्म पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलको जानकी किचेन, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको नमो फुड कोड क्यान्टिन, रत्नराज्य स्कुल बानेश्वर, केएमसी अस्पताल सिनामङ्गलस्थित ग्रीन बड्स बेकरी क्याफे तथा भरोसा अस्पताल बानेश्वरको सुदूरपश्चिम भोजनालय एण्ड खाजा घरलगायतका क्यान्टिनमा अनुगमन गरिएको महानगरले जनाएको छ।

बालबालिकाको स्वास्थ्य र पोषण सुधार गर्ने उद्देश्यले महानगरले सामुदायिक विद्यालयका २३ जना मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता तथा पोषणसम्बन्धी तालिमसमेत प्रदान गरेको छ। उक्त तालिममा खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित खाना ह्यान्डलिङ, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन तथा रोग रोकथाममा स्कुल नर्सको भूमिकाबारे जानकारी दिइएको थियो।

नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सुरु गरेको थियो भने आर्थिक वर्ष २०७९/८० देखि कक्षा ६ सम्म विस्तार गरिएको छ। काठमाडौँ महानगरपालिकाले भने कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ।

अनुगमनका क्रममा भेटिएका कमजोरी सुधारका लागि सम्बन्धित पक्षलाई सुझाव दिइने गरिएको छ। साथै अखाद्य वस्तुको प्रयोग भेटिएमा सम्बन्धित व्यक्तिको रोहवरमा त्यस्ता सामग्री नष्ट गरिने महानगरले जनाएको छ।

महानगरका अनुसार विद्यालय क्यान्टिनहरूमा सरसफाइमा लापरवाही देखिएको छ। कतिपय स्थानमा कपडा र खाद्यवस्तु सँगै राख्ने, खाद्यवस्तु नछोपी राख्ने, फोहर व्यवस्थापनका लागि डस्टबिनको उचित प्रयोग नगर्ने तथा किचेनको संरचनागत सुधार नगरेको जस्ता समस्या देखिएको छ।

महानगरले आगामी दिनमा पनि नियमित अनुगमनलाई तीव्र बनाउँदै खाद्य स्वच्छता मापदण्ड पालना गराउन थप कडाइ गर्ने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/