काठमाडौं । टी–२० विश्वकपको फाइनल खेलमा भारतले शक्तिशाली ब्याटिङ प्रदर्शन गर्दै न्युजिल्याण्डलाई उपाधिका लागि कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ। फाइनल खेलमा बनाइएको २५५ रनको यो स्कोर प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो मानिएको छ। यसअघि फाइनलमा बनाइएको उच्च स्कोर १७६ रन थियो, जुन भारतले सन् २०२४ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको थियो।
भारतका ओपनर सञ्जु सामसन र अभिषेक शर्माले टोलीलाई उत्कृष्ट सुरुआत दिलाए। उनीहरूले मात्र ७.१ ओभरमा ९८ रनको साझेदारी गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए। अभिषेक शर्मा २१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाएर आउट भए।
त्यसपछि सामसनले ईशान किशनसँग मिलेर अर्को सशक्त साझेदारी गरे। दुवैले ४८ बलमा १०५ रन थप्दै टोलीको स्कोर तीव्र गतिमा अघि बढाए। सामसन ४६ बलमा ५ चौका र ८ छक्कासहित ८९ रन बनाउँदै आउट भए भने किशनले २५ बलमा ४ चौका र ४ छक्कासहित ५४ रन जोडे।
भारतको रनगति बढ्दै जाँदा न्युजिल्याण्डका जिमी निसमले १६औँ ओभरमा तीन विकेट लिँदै खेलमा केही नियन्त्रण फर्काए। सोही ओभरमा सामसन, किशन र कप्तान सूर्यकुमार यादवलाई आउट गर्दै उनले भारतलाई दबाबमा पार्ने प्रयास गरे।
अन्तिम चरणमा हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए भने शिवम दुबेले २६ र तिलक वर्माले ८ रन थपेपछि भारतले ठूलो योगफल खडा गर्न सफल भयो।
न्युजिल्याण्डका लागि जिमी निसमले ४ ओभरमा ४६ रन खर्चेर तीन विकेट लिए। यस्तै रचिन रविन्द्र र म्याट हेनरीले समान एक–एक विकेट लिए। अब उपाधि जित्न न्युजिल्याण्डले उक्त कीर्तिमानी लक्ष्य पछ्याउनुपर्नेछ।




