काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६ जना उम्मेदवारले ५० हजारभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका छन्। तीमध्ये सबैभन्दा बढी मत चितवन–३ बाट उम्मेदवार बनेकी सोविता गौतमले ल्याएकी छन्।
गौतमले कुल ५९ हजार २७७ मत प्राप्त गर्दै विजयी भएकी हुन्। त्यस्तै, दोस्रो सर्वाधिक मत ल्याउने उम्मेदवारका रूपमा रूपन्देही–३ बाट डा. लेखजंग थापा रहेका छन्। उनले ५८ हजार ८१४ मत प्राप्त गरेका छन्।
यसैगरी रूपन्देही–२ बाट सुलभ खरेल ५६ हजार ५५० मतसहित विजयी भएका छन् भने मोरङ–६ बाट रुबिना आचार्यले ५५ हजार ५१३ मत ल्याएर जीत हात पारेकी छन्।
चितवन–२ बाट पार्टी सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भएका छन्। त्यस्तै काभ्रेपलाञ्चोक–२ बाट बदनकुमार भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
यसपटकको निर्वाचनमा रास्वपाका उम्मेदवारहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय मत ल्याउँदै आफ्नो उपस्थिति बलियो बनाएका छन्।




