काठमाडौं – आउँदो २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) परिचालन गरेको छ। निर्वाचन सुरक्षा मजबुत बनाउन प्रहरी प्रधान कार्यालय र विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेश कमाण्डको जिम्मेवारी दिइएको हो।
कोशी प्रदेशमा मानव स्रोत विभागका एआईजी राजन अधिकारी, मधेश प्रदेशमा एआईजी डम्बर विक, बागमती प्रदेशमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाह, गण्डकी प्रदेशमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी डा. मनोज केसी खटिएका छन्। त्यसैगरी लुम्बिनी प्रदेशमा उमा प्रसाद चतुर्वेदी, कर्णाली प्रदेशमा सुशील सिंह राठौर र सुदूरपश्चिम प्रदेशमा हिमालय कुमार श्रेष्ठलाई कमाण्डको जिम्मेवारी दिइएको छ। उपत्यकाका तीन जिल्लाको कमाण्ड एआईजी ईश्वर कार्कीले सम्हाल्नेछन्।
निर्वाचन सुरक्षाका लागि देशभर ३३ एसएसपी, ४६ एसपी, १२९ डीएसपी र ४३० इन्स्पेक्टरसहित ६३८ जना उच्च तहका प्रहरी अधिकृत परिचालन गरिएको छ। उपत्यकाबाट मात्र १२ हजार ७०० थप सुरक्षाकर्मी खटिएका छन्।
झापा, इलाम, सर्लाही, रौतहट, दोलखा, काभ्रे, सिन्धुपाल्चोक र रुपन्देहीलगायत संवेदनशील जिल्लामा एसएसपीमार्फत कमाण्ड व्यवस्था गरिएको छ। सबैभन्दा संवेदनशील मानिएको झापामा एसएसपी गोविन्द अधिकारीलाई जिम्मेवारी दिइएको छ।
सीमा नाकामा विशेष सुरक्षा टोली परिचालन गरी संयुक्त तथा आकस्मिक चेकिङ, आधुनिक प्रविधिको प्रयोगसहित निगरानी बढाइएको प्रहरीले जनाएको छ।




