काठमाडौं – नेपाली महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) यतिबेला घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहेकी छन्। देशका लागि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बा अहिले शल्यक्रिया र लामो पुनःस्थापना (रिह्याब) प्रक्रियाबाट गुज्रिरहेकी छन्।
यस कठिन घडीमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन ले आफ्नी ब्रान्ड एम्बेसेडर साम्बाको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले साम्बाको शल्यक्रिया तथा करिब ८ महिना लामो रिह्याब प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोगको घोषणा गरेको हो।
साम्बा नेपाली महिला फुटबलको पहिचान मात्र नभई देशको गौरवका रूपमा चिनिन्छिन्। अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको झण्डा उँचो राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी उनी हालसम्मका सफल खेलाडीमध्ये एक हुन्। घाइते अवस्थासमेत उनले ‘थाकेको हो, हारेको छैन’ भन्ने आत्मविश्वासपूर्ण सन्देश दिँदै छिट्टै मैदानमा फर्किने अठोट व्यक्त गरेकी छन्।
भायानेटले साम्बाको साहस, समर्पण र देशप्रतिको योगदानलाई सम्मान गर्दै सहयोगको हात बढाएको जनाएको छ। कम्पनीका अनुसार खेलकुद क्षेत्रका प्रतिभालाई साथ दिनु सामाजिक उत्तरदायित्वअन्तर्गतको पहल हो।
साम्बाको शीघ्र स्वास्थ्यलाभ र सफल पुनरागमनको कामना गर्दै समर्थक तथा शुभेच्छुकहरूले पनि विभिन्न माध्यमबाट साथ र हौसला प्रदान गरिरहेका छन्।




