
काठमाडौं -साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको बजारले मंगलबार पनि गिरावटलाई निरन्तरता दिएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.५० अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंकले घटेका छन्।
नेप्से परिसूचक घटे पनि बजारको कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब २३ करोड रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार ३५७ स्टकको ४६ हजार ५८९ पटकको कारोबारबाट ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस क्रममा १ करोड ४४ हजार कित्ता शेयर किनबेच भएका छन्।
मंगलबार सर्वोत्तम पेन्ट्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयरमूल्य १३७ रुपैयाँ ५० पैसा बढेर १ हजार ५४ रुपैयाँ ७० पैसा पुगेको छ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब १५ प्रतिशत बढ्दा नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतले बढेको छ।
यता, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १०.०७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर मंगलबार शीर्ष स्थानमा रहेको छ। कम्पनीको ९० करोड ७ लाख ९७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये दुई समूहको परिसूचक बढेको छ भने ११ समूहको परिसूचक घटेको छ। विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेका छन्। होटल तथा पर्यटन उपसमूहमा भने सबैभन्दा धेरै गिरावट देखिएको छ। उक्त उपसमूहको परिसूचक ०.९१ प्रतिशतले घटेको छ।






Leave a Reply