
काठमाडौं – प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिस लिमिटेडको चालु आर्थिक वर्षको पहिलो नौ महिनाको कारोबार अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ। कम्पनीले उक्त अवधिमा ३९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब २६ प्रतिशतले कम हो।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा भएको ‘जेनजी’ आन्दोलनका कारण पर्यटन गतिविधि तथा हवाई सेवामा परेको प्रत्यक्ष असरले आम्दानी घटेको हो। पर्यटन क्षेत्रमा आएको मन्दीले हेलिकप्टर सेवाको मागमा कमी आउँदा कम्पनीको वित्तीय प्रदर्शन प्रभावित भएको जनाएको छ।
आम्दानीसँगै सञ्चालन नाफा मार्जिनमा पनि दबाब परेको छ। सन् २०२५ मा ४२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आवको पहिलो नौ महिनामा घटेर ३५ प्रतिशतमा सीमित भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ।
यद्यपि दीर्घकालीन रूपमा कम्पनीको कारोबार वृद्धि सकारात्मक देखिन्छ। कम्पनीले सन् २०२५ मा ८१ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा ७९ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ तथा सन् २०२२ मा ४० करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो।
सन् २०१७ देखि व्यावसायिक सञ्चालन सुरु गरेको कैलाश हेलिकप्टर सर्भिसको आम्दानीको मुख्य स्रोत पर्यटनसँग सम्बन्धित उडान सेवा हो। कुल आम्दानीमध्ये करिब ५० प्रतिशत हिस्सा एडभेन्चर पर्यटनबाट प्राप्त हुन्छ। यसमध्ये एभरेष्ट बेस क्याम्प उडानबाट ४८ प्रतिशत र अन्नपूर्ण बेस क्याम्प उडानबाट २ प्रतिशत आम्दानी हुने गरेको कम्पनीले जनाएको छ। त्यस्तै, ३० प्रतिशत आम्दानी उद्धार (रेस्क्यू) सेवाबाट र बाँकी २० प्रतिशत कार्गो ढुवानी सेवाबाट प्राप्त हुने गरेको छ।
निजी कम्पनीका रूपमा स्थापना भएको कैलाश हेलिकप्टर सर्भिस सन् २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो। हाल कम्पनीसँग तीनवटा एयरबस हेलिकप्टर सञ्चालनमा रहेका छन्। कम्पनीले चार्टर्ड उडान, उद्धार सेवा, स्लिङ अपरेशन, एडभेन्चर टुर तथा कार्गो ढुवानी सेवा प्रदान गर्दै आएको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड ७० लाख रुपैयाँ रहेको छ। सात जना संस्थापक लगानीकर्ता रहेको कम्पनीमा अध्यक्ष र प्रबन्ध निर्देशकको संयुक्त स्वामित्व ४० प्रतिशत छ। कम्पनीलाई इक्रा नेपालले ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन’ श्रेणीको क्रेडिट रेटिङ प्रदान गरेको छ। आईपीओ निष्काशनको तयारी गरिरहेको कम्पनीको पछिल्लो वित्तीय प्रदर्शनले पर्यटन क्षेत्रको उतारचढावले हेलिकप्टर व्यवसायमा पार्ने प्रभावलाई स्पष्ट रूपमा देखाएको छ।






Leave a Reply