
काठमाडौं— साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। सोमबारको गिरावटपछि मंगलबार पनि बजारमा दबाब कायम रहँदा परिसूचकसँगै कारोबार रकममा पनि कमी देखिएको हो।
मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा बन्द भयो। यससँगै सेन्सेटिभ इन्डेक्स २.६६ अंक, फ्लोट इन्डेक्स १.४० अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.०८ अंकले घटेका छन्।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४३ वटा कम्पनीका १ करोड ७ लाख ६१ हजार कित्ता शेयर ५२ हजार २७२ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँ पुगेको छ।
यस दिन एभरेष्ट कलरको शेयरमूल्य लगातार १२ औँ कारोबार दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, खानीखोला हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतभन्दा बढी र जोशी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत रूपमा, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ११.६७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर अग्रस्थानमा रहँदै ४० करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यसपछि सिद्धार्थ बैंकको करिब १७ करोड रुपैयाँ तथा नेशनल हाइड्रोपावर कम्पनीको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
उपसमूहतर्फ भने मंगलबार कारोबार भएका सबै १३ उपसमूहका सूचकहरू घटेका छन्। तीमध्ये उत्पादन तथा प्रशोधन उपसमूह १.३१ प्रतिशतले सर्वाधिक घट्दा अन्य र व्यापार उपसमूहका सूचकहरू पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।






Leave a Reply