
काठमाडौं- साहस ऊर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, आम्दानी तथा वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार भएको जनाएको छ।
विवरणअनुसार कम्पनीले आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ८९ करोड ५१ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको खुद नाफा ५१.८४ प्रतिशतले वृद्धि भएको देखिन्छ।
सोलुखुम्बुस्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको कम्पनीले समीक्षा अवधिमा २ अर्ब ८४ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो।
प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टापछिको कुल नाफा १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च कटाउँदा सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ।
कम्पनीको वित्तीय खर्चमा उल्लेखनीय कमी आएको छ। अघिल्लो वर्ष ८० करोड २१ लाख रुपैयाँ रहेको ब्याज खर्च समीक्षा अवधिमा घटेर ५७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिमा सकारात्मक योगदान दिएको छ।
आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ। जगेडा कोष ३ अर्ब १६ करोड २० लाख रुपैयाँबाट बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ। यस्तै, मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा झरेको छ भने कुल सम्पत्ति १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुगेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (EPS) २९ रुपैयाँ ५७ पैसा पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय सुधार हो।
यसैबीच, कम्पनीले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्राइभेट लिमिटेडमार्फत ३४१ मेगावाट क्षमताको ‘बुढीगण्डकी ‘क’ जलविद्युत आयोजना’ अगाडि बढाइरहेको जनाएको छ। उक्त परियोजनाका लागि हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित आवश्यक प्रक्रिया पनि अघि बढाइएको कम्पनीले उल्लेख गरेको छ।






Leave a Reply