काठमाडौं, साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। लगातार चार कारोबार दिन ओरालो लागेको बजारमा मंगलबार भने हरियाली देखिएको हो।
यस दिन नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा पुगेको छ। साथै, सेन्सेटिभ इण्डेक्स ०.७९ अंक, फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंकले वृद्धि भएका छन्।
बजार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ३८३ स्टकको ५३ हजार ८५४ पटकको कारोबारबाट १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ पुगेको छ। यस दिन पनि ऋणपत्र (डिबेञ्चर) को उच्च कारोबारले कुल कारोबार रकम बढाउन महत्वपूर्ण योगदान दिएको देखिएको छ।
मूल्य वृद्धितर्फ ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ सबैभन्दा अगाडि रहँदै १०.२२ प्रतिशतले उकालो लागेको छ। त्यसपछि सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य करिब १० प्रतिशतले बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, मूल्य घट्ने सूचीमा ७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९० शीर्ष स्थानमा रहँदै ९.६८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष १० स्टकमध्ये ९ वटा ऋणपत्र रहेका छन्। १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को ५२ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, १० प्रतिशत एनआईएमबि डिबेञ्चर २०९० को ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चरको कारोबार रकम ३७ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ भने एभरेष्ट बैंक लिमिटेड डिबेञ्चरको कारोबार ३६ करोड रुपैयाँ नाघेको छ।
उपसमूहगत प्रदर्शनमा १३ मध्ये १२ उपसमूह हरियालीमा बन्द भएका छन् भने एक उपसमूह मात्रै घटेको छ। व्यापार उपसमूह सर्वाधिक १.४७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह ०.१८ प्रतिशतले घटेको छ।
नेप्सेमा सामान्य सुधार, कारोबार रकम ८ अर्ब ४१ करोड नाघ्यो




