काठमाडौं ,साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। लगातार दुई कारोबार दिन बढेको बजार शुक्रबार भने केही करेक्सनसहित ओरालो लागेको हो।

यस दिन नेप्से परिसूचक ८.३० अंकले घटेर २,६५३.४० विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.६५ अंक, फ्लोट इण्डेक्स ०.६४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले घटेका छन्।
परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३४५ वटा स्टकको ४६ हजार २३४ पटकको कारोबारमार्फत ८५ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ।
यस दिन सानिगाड हाइड्रो, स्नो रिभर्स तथा कालंगा हाइड्रोको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल फाइनान्सको शेयर मूल्य करिब १५ प्रतिशतले वृद्धि भएको छ भने खानी खोला हाइड्रोपावरको शेयर मूल्य ११.५ प्रतिशतभन्दा बढी बढेको छ। यता, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १३.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ४ प्रतिशत एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहँदै करिब ४३ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यसपछि ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ को करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम पनि १७ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ।
उपसमूहतर्फ १३ मध्ये ५ उपसमूहका परिसूचक बढेका छन् भने ८ उपसमूह ओरालो लागेका छन्। वित्त उपसमूह सर्वाधिक १.०६ प्रतिशतले बढेको छ। विकास बैंक, जलविद्युत, लघुवित्त तथा व्यापार उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ। विपरीत, बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.९६ प्रतिशतले घटेको छ।




