काठमाडौँ,बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबारको सकारात्मक लयलाई निरन्तरता दिँदै यस दिन नेप्से परिसूचक ८.७८ अंकले वृद्धि भएर २६६१.७१ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.८९ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंकले उकालो लागेको छ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूहमा गिरावट आएको छ। सबैभन्दा बढी योगदान बैंकिङ्ग उपसमूहको रहेको छ, जसको परिसूचक २.०४ प्रतिशतले बढेको छ। साथै वित्त, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा बिहीबार ३५९ स्टकको ४३ हजार १३१ पटकको कारोबारमार्फत ८९ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँ पुगेको छ।
यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा पुगेका हुन्।
त्यसैगरी, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १३.५ प्रतिशतभन्दा बढीले बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ। विपरीततर्फ, १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य सबैभन्दा बढी १०.६० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ। बैंकको ४१ करोड ३२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। साथै, १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को ४० करोड रुपैयाँभन्दा बढीको ऋणपत्र कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।




