काठमाडौं — टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले वैशाख २३ गतेदेखि २८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरेको हो। यसमध्ये १२ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै बाँडफाँड गरिसकिएको छ।
बाँकी शेयरमध्ये १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। अब बाँकी रहेको २१ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।




